२७ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहङ्कार कसैले पनि राख्न नहुने बताएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले असन्तुष्ट पक्षसँग संवाद गर्नुपर्ने धारणा राखेका हुन्।
महामन्त्री थापाले सडकमा देखिएको जनआक्रोशलाई केही होइन भन्ने अहङ्कार कसैले पनि राख्न नहुने बताए । उनले वर्तमान सरकार गठन भएपछि मात्र जनता आक्रोशित भएको प्रतिपक्षीको आरोपको खण्डन गरेका छन्।
उनले भने, ‘जनता असन्तुष्ट छन्। असन्तुष्ट भएका जनतामा आक्रोश छ। आक्रोशलाई नजरअन्दाज गर्नुहुँदैन भन्ने कुरा म पनि मान्दछु। केही पनि भएको छैन, यो केही होइन भन्ने अहङ्कार कसैले पनि राख्नुहुँदैन।’ थापाले अघि भने,’ जसले व्यवस्था परिवर्तनको लागि हामीलाई साथ दियो। जो आज हामीसँग असन्तुष्ट छ, जो रिसाएको छ उनीहरूसँग संवाद गर्नुपर्छ भन्ने ठान्दछु।,’
महामन्त्री थापाले वर्तमान सरकार आएसँगै जनता रिसाएका हुन् भन्ने प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भनाइलाई खण्डन गर्दै यस कुरामा कतै पनि चित्त बुझाउने ठाउँ नरहेको जिकिर गरे।