२८ फागुन, काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठक सरकारका मन्त्री कोही पनि उपस्थित नभएपछि स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सरकारको प्रतिनिधिको रूपमा कुनै पनि मन्त्री उपस्थित नभएकाले बैठक स्थगित गर्न माग गरेका थिए ।
सभामुख देवराज घिमिरेले सरकारका मन्त्री नै उपस्थित नभएका देखेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । प्रमुख सचेतक पाण्डेले सरकारले सदनलाई र जनप्रतिनिधिहरूलाई हेपिरहेको भन्दै सरकारको आलोचना गरेका थिए।
संसद् बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य मानिन्छ । एक जना पनि मन्त्री उपस्थित नभए संसद् बैठक नबस्ने नियमावलीमा व्यवस्था छ ।