२८ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाए पछि संसद् बैठकमा होहल्ला भएको छ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले काठमाडौँको तारकेश्वर–९, लोकतान्त्रिक चोकमा रहेको जग्गा कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् ।
सांसद खनालले भने ‘काठमाडौँ क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली काँग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको बाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ,’।
उक्त आरोपपछि काँग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। काँग्रेसकी सचेतक सुशीला थिङ, सांसद राजेन्द्र बजगाईंले सुरुमा उठेर आपत्ति जनाए भने त्यसपछि काँग्रेसका अन्य सांसदहरूले पनि उठेर हल्ला गरे। काँग्रेस सांसदहरूले तथ्यहीन आरोप लगाएको भन्दै रास्वपाका सांसदद्वय खनाल र श्रेष्ठको अभिव्यक्ति हटाउन माग गरे । जवाफमा सभामुख घिमिरेले कुरा उठाउने बित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि मात्रै हटाउन सकिने बताएका थिए।
काँग्रेस सांसदहरूले होहल्ला नरोकिएपछि सभामुखले ‘प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ। सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ, राख्नुहुनेछ।,’ भन्दै सम्झाउन खोजेका थिए। उनले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन संसद्को ध्यानाकर्षण गराए।
रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन्। उनीहरूले काँग्रेसका कुन नेताले हडपेको भन्ने चाहिँ खुलाएनन्।