२८ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको भ्रष्टाचारको भारी पार्टीले बोक्न नसक्ने बताएका छन् । आज नवलपरासीको सुनवलमा आयोजित पार्टी कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार कसैले गर्छ भने जिम्मा पनि स्वयंले लिनुपर्ने र त्यसको भारी काँग्रेसले नबोक्ने बताएका हुन्।
उनले सिङ्गो कर्मचारी तन्त्रले भ्रष्टाचार नगर्ने भन्दै अघि भने ‘सिङ्गो कर्मचारी तन्त्रले भ्रष्टाचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिङ्गो नेपालका नेताहरूले गर्छन् त गर्दैनन् नि त । व्यक्तिले गर्छ नि । त्यसको सम्पूर्ण जिम्मा व्यक्ति स्वयमले लिनुपर्छ, भ्रष्टाचारको भारी पार्टीले बोक्न सक्दैन।,’
महामन्त्री थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति धेरै आशङ्काहरू रहेको बताएका छन् । उनले ठुला ठुला भ्रष्टाचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसद्बाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प समेत बताए।
थापाले भने,‘एकदम विश्वास गर्ने न्यायाधीश वा प्रधानन्यायाधीश ल्याउने हो भने पनि ल्याऔँ । आयोग बनाउने हो भने पनि बनाऔँ, नेताको सम्पत्ति पनि छानबिन गरौं । सबै ठुलो ठुलो काण्डको पनि छानबिन गरौँ । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिऔँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔँ ।’