समाचार

काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ, झन्डै १०० स्थानमा चेकिङ पोस्ट खडा 

२९ फागुन, काठमाडौँ । काठमाडौँमा सवारी साधनको चेकजाँचमा कडाइ गरिएको छ। आज पहाडी क्षेत्रमा होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हुन्। 

आज सार्वजनिक बिदा भएका कारण पनि भिडभाड बढ्दो रहेको छ।  होली मनाउनेहरू चोक चोकमा भेला भएका छन् । उनीहरू एक अर्कामा रङ्ग, अबिर र पानी छ्याप्दै रमाइलो गरिरहेका छन् । 

होली मनाउनेहरू सवारी साधनमार्फत विभिन्न स्थानमा आउ–जाउ गर्ने लापरबाही गरेर  सवारी चलाउने भएका कारण पनि चालकहरूलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। 

होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । होली कार्यक्रम स्थल र अन्य सार्वजनिक स्थलमा प्रहरीले सिसिटिभी र ड्रोनबाट पनि निगरानी गरिरहेको जनाएको छ। 

होली पर्वको अवसरमा मानिसहरूले उच्छृङ्खल गतिविधि गर्ने, जथाभाबी लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरू हुने भएका कारण धेरै स्थानमा ट्राफिक प्रहरी खटाएर कडाइ गरिएको ट्राफिक कार्यालयले जनाएको छ। 

काठमाडौँ उपत्यकाका कोटेश्वर, बानेस्वर, थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका धेरै  स्थानमा चेकिङ पोस्ट राखिएको छ ।