२९ फागुन, काठमाडौँ । आज पहाडी जिल्लामा रङहरूको उत्सव होली पर्व उल्लासपूर्वक मनाइँदै छ। एक अर्कामा अबिर दलेर मनाइने यस पर्वलाई भोलिपल्ट तराईमा मनाउने चलन रही आएको छ ।
सरकारले तराई र पहाडमा मनाइने फरक फरक दिनको होलीमा बिदा दिने गरेको छ। आज पहाडी जिल्लामा होली मनाइने भएकाले बिदा दिएको छ भने भोली तराइमा सार्वजनिक बिदा हुनेछ।
यस पर्वलाई हर्षोल्लासका साथ मनाउन आह्वान गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख,राष्ट्रियसभा अध्यक्ष लगायत देशका उच्च पदस्थ व्यक्तिहरूले फागु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।