राजनीति

सरकार संवेदनशील अवस्थामा कुशासनको अर्को दुष्कर्ममा फस्यो : वरिष्ठ नेता डा. कोइराला

१ चैत, काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेको प्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत सरकारको उक्त निर्णयमा आक्रोश व्यक्त गरेका हुन्। 

वरिष्ठ नेता डा. कोइरालाले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै धेरै भएकाले घटाउन आवश्यक रहेको बताएका छन्।  उनले सरकारको यस्तो कदमलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी समेत गरेका छन्। 

सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेका विषयमा समाचार आएपछि सामाजिक सञ्जालमार्फत नेता कोइरालाले सरकारका यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने  भन्दै प्रतिक्रिया दिएका हुन्। 

उनले लेखेका छन् : ‘सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयास: पूर्व विशिष्टलाई आजीवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ।,’