समाचार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ

१ चैत, काठमाडौँ। महोत्तरीको लोहारपट्टी नगरपालिका–४ रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका सई धर्मेन्द्रसिंह महतो माथि १० वर्षीया बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको छ। उक्त घटना पछि महोत्तरीमा स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेपछि तनाव उत्पन्न भएको छ। 

आज बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई महतोले बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको स्थानीयले आरोप लगाएका छन् । 

सईले हप्काउँदै जबरजस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए।  स्थानीयले सईलाई कारबाही गर्न माग गर्दै प्रहरी पोस्ट घेराउ गरेका हुन्। 

स्थानीयको विरोध पश्चात् सशस्त्र प्रहरीले आरोपित सई महतोलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको छ।