४ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । नेपाल प्रहरीको ३१औँ नयाँ आइजिपी नियुक्तिका लागि बैठक बोलाइएको हो।
नेपाल प्रहरीको ३०औँ महानिरीक्षक वसन्त कुँवर आजबाट अनिवार्य अवकाशमा जाँदै छन्। उनी ३० वर्षे कार्यकाल सकेर अवकाशमा जान लागेका हुन् । आज बस्ने मन्त्रीपरिषद्को बैठकमा गृहमन्त्री रमेश लेखकले नयाँ आइजिपी नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने छन्।
नयाँ आइजिपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा छन् । अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदिप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ आइजिपीको दौडमा रहेका छन् । अब बन्ने प्रहरी प्रमुखको कार्यकाल १८ भदौ ०८२ सम्म करिब ६ महिना मात्र रहनेछ ।
ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादनको आधारमा थापा गिरी र तामाङभन्दा अगाडि देखिन्छन् ।
प्रहरी नियमावली-२०७१ अनुसार प्रहरी महानिरीक्षकको पदमा बढुवा गर्दा एआईजीहरूमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिलाई बढुवा गर्नुपर्ने उल्लेख गरेको छ ।