समाचार

‘यौन व्यवसाय खुला गर्नुपर्ने’ अभिव्यक्ति दिने काँग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी  

६ चैत, काठमाडौँ ।  चैत ३ गते प्रतिनिधि सभा बैठकमा राखेको आफ्नो धारणा प्रति काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा उनले क्षमायाचना गरेका हुन्। 

प्रतिनिधिसभाको  बैठकको सुरुमा नै समय लिएर बोल्दै घिमिरेले माफी मागेका हुन् ।

‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा रहेको उनको भनाइ थियो। उनले भने,’ यो धारणा नेपाली काँग्रेस र संसदीय दलको आधिकारिक धारणा पनि होइन, यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद ।’

घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो । 

प्रमुख सचेतक घिमिरेको उक्त अभिव्यक्तिलाई लिएर  प्रतिनिधिसभा र काँग्रेसको पदाधिकारी बैठकमा समेत आलोचना भएको थियो ।

चौतर्फी विरोध र आलोचना भएपछि उनले आज माफी मागेका हुन् ।