समाचार

स्ववियु निर्वाचन : पिएन क्याम्पस पोखरामा मतदान जारी  

 १० चैत , काठमाडौँ। कास्कीको पृथ्वीनारायण क्याम्पस, पोखरामा दुई पटक स्थगित भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आज बिहान ८ बजेदेखि पुनः सुरु भएको छ ।स्ववियुको चुनाव गत चैत ५ र चैत ६ गरी दुई पटक स्थगित भएको थियो। 

निर्वाचन समितिका अनुसार क्याम्पसभित्र ६ वटा केन्द्रमा ८ बजेदेखि मतदान भइरहेको छ । मतदान४ बजेसम्म  हुने तर ४ बजेसम्म गेटभित्र प्रवेश गर्नेले त्यसपछि पनि मतदान गर्न पाउने बताइएको छ। 

पृथ्वीनारायण क्याम्पसमा ०६५ पछि स्ववियु निर्वाचन हुन सकेको थिएन । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेका छन्। 

पृथ्वीनारायण क्याम्पसमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ वटा सङ्घ/सङ्गठन/प्यानल चुनावी मैदानमा छन् । प्रत्यक्षतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु (छैटौँ), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी सङ्घ, संयुक्त प्यानल, अनेरास्ववियुका उम्मेदवार छन् । स्ववियु अध्यक्षमा अखिल (क्रान्तिकारी)बाट नवीन अधिकारी, अनेरास्ववियु (छैटौँ)बाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट दिप्सन गुरूङ, नेपाल विद्यार्थी सङ्घबाट सुशील न्यौपाने, संयुक्त प्यानलबाट सन्तोष पौडेल, अनेरास्ववियुबाट विष्णु पोखरेल उम्मेदवार छन् । कमल सुवेदी र विप्लवी न्यौपाने स्वतन्त्र उम्मेदवार छन् ।

समानुपातिकतर्फ अखिल (क्रान्तिकारी), अनेरास्ववियु, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (छैटौँ), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल (समाजवादी) र नयाँ शक्ति विद्यार्थी युनियनले उम्मेदवारी दिएका छन् ।