समाचार

नागरिक अगुवाहरूको आरोप : पूर्वराजा ज्ञानेन्द्रले गद्दीमा फर्किन राजनीति सुरु गरे

१२ चैत, काठमाडौँ । आठ जना नागरिक अगुवाहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरूको गतिविधिलाई लिएर भर्त्सना गरेका छन् । नागरिक अगुवाहरूले एक विज्ञप्ति जारी गर्दै  पुनः राजसंस्था पुनर्स्थापनाको पक्षमा ज्ञानेन्द्रले राजनीति थालेको आरोप लगाएका हुन्। 

विज्ञप्तिमा भनिएको छ,’छिमेक सम्बन्ध तथा बाह्य अन्तर्राष्ट्रिय मामिला पेचिलो बन्दै गएको सन्दर्भमा ज्ञानेन्द्र शाह र उनका समर्थकको गतिविधिले नेपालको भूराजनीति थप कमजोर बनाउने छ।’ 

भारतले नेपालमा गरेको नाकाबन्दी बिर्सिएर ज्ञानेन्द्र शाहले व्यक्तिगत स्वार्थका लागि पुनः राजगद्दीमा फर्किन भारत सरकारसँगै पहल गरिरहेका उनीहरूले आरोप लगाएका छन् ।

नेपालको संविधान (२०७२) सङ्घीय, लोकतान्त्रिक र धर्मनिरपेक्षताको आधारमा निर्मित दस्ताबेज भएको भन्दै उनीहरूले त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयासले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चिरञ्जीवी प्रसाईँ र हिरा विश्वकर्माले हस्ताक्षर गरेका छन् ।