१२ चैत, काठमाडौँ । कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए पछि अदालत जाने तयारेमा रहेका छन्। कुलमानलाई सरकारले बर्खास्त गरेको औपचारिक पत्र प्राप्त हुन साथ अदालत जाने तयारीमा रहेको उनी निकट श्रोतले जनाएको छ।
सरकारको निर्णयविरुद्ध अदालत जान उनी सरकारको औपचारिक पत्रको पर्खाइमा छन्। पत्र प्राप्त भई नसकेकोले पत्र प्राप्त हुनासाथ अदालत जाने प्रक्रिया रहेको श्रोतले बताएको छ।
कुलमानलाई हटाउने सरकारको निर्णयविरुद्ध सडकमा प्रदर्शनसमेत सुरु भइसकेको छ।
देशलाई १८ घण्टा लामो लोडसेडिङबाट मुक्त बनाएको भन्दै नागरिकस्तरबाट वाहवाही पाइरहेका कुलमानलाई ओली नेतृत्वको सरकारले एकाएक प्राधिकरणबाट हटाएपछि मुलुकभर विरोध प्रदर्शनदेखि सरकारका मन्त्रीको पुत्ला जलाउने जस्ता कार्यहरू भइरहेका छन्।
राजनीतिक दल र विभिन्न सङ्घ संस्थाले आजको लागी आन्दोलनको कार्यक्रम पनि सार्वजनिक गरिसकेका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।