समाचार

कलङ्की घटना : एक जनाको ज्यान गयो, अनुसन्धानको लागी १५ जना पक्राउ 

१२ चैत, काठमाडौँ । हिजो कलङ्कीमा भएको घटनाको अनुसन्धानका लागि प्रहरीले १५ जनालाई पक्राउ गरेको  छ। 

कलङ्कीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा साँझ झडप भएको थियो। 

ग्याङफाइट भएको सूचना पाएलगत्तै प्रहरी वृत्त कालीमाटी, जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न स्थानहरूबाट १५ जनालाई नियन्त्रणमा लिएको बताइएको छ। घटनामा संलग्नको यकिन गरेपछि आरोपितलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। 

उक्त घटनामा काठमाडौँ ढुंगेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको मृत्यु भएको थियो । गम्भीर घाइते रहेका उनलाई कलङ्कीस्थित शहीद  मेमोरियल अस्पताल लगिए पनि डाक्टरले राति ८ बजे मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबिच विवाद भएको र २१ वर्षीय रोहित खड्का, विनय लामा, पर्वित श्रेष्ठले रड, खुकुरी, नक र मुक्का प्रहार गरेको प्रहरीको भनाइ छ ।

झडपमा घाइते भएका नागढुंगा बस्ने २३ वर्षीय सन्दीप भुजेल, नैकाप बस्ने २२ वर्षीय चक्रे भनिने पवन तामाङ र चन्द्रागिरि नगरपालिका-१४ बस्ने २२ वर्षीय पासाङ शेर्पाको उपचार भइरहेको प्रहरीले बताएको छ।