१२ चैत, काठमाडौँ । कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन भएको छ। स्वतन्त्र नागरिकको तर्फबाट सर्वसाधारणहरू जम्मा भएर प्रदर्शन गरेका हुन्।
माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले ‘जाग्यो जाग्यो जनता अति भयो अब त ’, ‘उज्यालो नेपाल जिन्दाबाद’, ‘कुलमान घिसिङ जिन्दाबाद, ‘हामी जनता हेरेको हेरै, सरकार जान्ने भो धेरै’ लगायतका नारा लगाएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गर्ने निर्णय सार्वजनिक भएपश्चात् सामाजिक सञ्जालमा सरकारको आलोचना र विरोध भएको थियो।

उक्त निर्णयको सत्तारुढ दलका नेताहरूले समेत विरोध गरेका छन् । कुलामानलाई बर्खास्त गर्ने निर्णय लगत्तै प्राधिकरणको कार्यालयमा सुरक्षा बढाइएको छ ।