१२ चैत, काठमाडौँ । नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ धरानले बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।
कुलमान घिसिङलाई हटाउने नेपाली काँग्रेसकै तर्फबाट मन्त्री बनेका उर्जामन्त्री दीपक खड्काको सिफारिसमा कारबाहीमा परेका कुलमानको धरानले ठाडै विरोध गरेको छ ।
सुनसरी क्षेत्र नम्बर १ का क्षत्रिय सभापति सुजेन्द्र तामाङ, नगर सभापति श्याम पोख्रेल, प्रदेश सभा क र ख का नेपाली काँग्रेसका सभापतिहरू क्रमशः अनिल श्रेष्ठ र मुरारी प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय सच्याउन माग गरेका छन् ।
हिजो मात्र नेपाली काँग्रेसका महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापालगायतका काँग्रेसका उच्च तहका नेताहरू तथा आज नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले कुलमान घिसिङ हटाएकोमा आ–आफ्नो तरिकाले विरोध जनाए पनि क्षेत्रीय, नगर तथा प्रदेश सभा क्षेत्रबाट काँग्रेस सम्मिलित सरकारको निर्णयको संस्थागत विरोधको सुरुवाती हुनु काँग्रेसको असहयोगमा ओली सरकार ढाल्ने सङ्केतको रुपासमेत लिने गरिन्छ ।
केन्द्रमा सभापति शेरबहादुर देउवाले कुलमान घिसिङ हटाउने विषयको सडकमा विरोध भई रहेका बेलासमेत ओली सरकारलाई बिना संकोच काँग्रेसको समर्थन रहेको छ भनिरहेका बेला धरानका काँग्रेस नेताहरुले आफूलाई लागेको सही कुरा आँट गरेर भनेका छन् । नेपाली काँग्रेसले यसअघि स्थानीय पालीका जिते पनि यस पटक स्वतन्त्रबाट हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर छन् ।
कतिपय नेताहरू धरान वा क्षेत्र नम्बर र प्रदेश सभा क्षेत्र क र ख का नेताहरूलाई काँग्रेस नेतृत्वको निर्णयको खिलाफमा गएका कारण कारबाहीमा पर्न सक्ने बताए पनि जनताको व्यापक समर्थन रहेका कुलमानको विरोधमा उत्रिएको ओली सरकारको कूटनीतिक विरोधमा कडा रूपमा उत्रिएका छन् ।
हक्की स्वभाव भएका सुनसरी बासी र नेपाली काँग्रेसका स्थानीय नेताले काँग्रेसकै शक्तिशाली सभापतिले गरेको सरकारलाई समर्थन गर्ने निर्णयको विरुद्धमा विज्ञप्ति निकालेरै विरोध गर्नु सुनसरीवासीको प्रतिष्ठा जोगाएको धरानका काँग्रेस नेताहरूको ठम्याई छ । आफूहरू कारबाहीमा परे पनि परियोस् भन्दै सही कुरा विज्ञप्ति निकालेर अगाडी बढ्नु माथिल्लो तहका नेताका विरुद्धमा गलत कुराको विरोध गर्ने साहसको रूपमा टिप्पणी इटहरीवासी राजन शर्माले गरेका छन् ।
