समाचार

प्रतिपक्षको अवरोधपछि आधा घण्टाको लागी संसद् बैठक स्थगित 

१३ चैत, काठमाडौँ ।विपक्षी दलहरूको अवरोधका कारण संसद् बैठक आधा घण्टाको लागी स्थगित भएको छ।

सरकारले चैत ११ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त  गरेको निर्णयको विरोधमा विपक्षी दलहरूले संसद् अवरोध गरेका हुन्। 

आज  प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका थिए। 

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

सांसद बस्नेतले विद्युत् प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको र स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको आरोप लगाए। उनले प्रतिपक्ष दलहरूको तर्फबाट बोल्दै कुलमानको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक सुचारु हुन नसक्ने बताएका थिए। 

 सभामुख घिमिरेले संसद् सुचारु गर्न पटक पटक आग्रह गरे पनि प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध जारी रहने प्रतिपक्षदलहरुको अडान पछि आधा घण्टाको लागी बैठक स्थगित भएको हो।