१३ चैत, काठमाडौँ । बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको काठमाडौँको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडी विरोध प्रदर्शन भएको छ। सरकारले कुलमान घिसिङलाई नेपाल प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज पनि प्रदर्शन भएको हो।
एउटा समूहले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेको हो । सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि आएको थियो। प्रदर्शनमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो । घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ ।
कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ । आज प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।





