१३ चैत, काठमाडौँ । प्रतिपक्ष दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभा बैठक दोस्रो पटक सूचना टाँस गरेर स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण स्थगित भएको थियो।
सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेर विपक्षी दलहरूसँग छलफल गरे पनि बैठक सुचारु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।
यही व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्ने गरी बैठक सारेका थिए । तर ३ बजे पनि बैठक सुचारु हुने अवस्था नभएपछि बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।





