१४ चैत, काठमाडौँ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । हिजो प्रतिपक्षी दलहरूको अवरोधका कारण सूचना टाँस गरेर स्थगित भएको बैठक आज बिहान ११ बजेका बस्न लागेको हो।
हिजोको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण बस्न सकेको थिएन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेकोबारे प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन चल्न नसक्ने प्रतिपक्ष दलहरूले बताइसकेका छन्।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यसका साथै नेपाल हवाई सेवा प्राधिकरण विधेय र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र निकासी पैठारी विधेयक लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।