१४ चैत, काठमाडौँ । स्थानीय तह कर्मचारी सङ्घले काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूलाई तलब उपलब्ध गराउन महानगरलाई सात दिनको अल्टिमेटम दिएको छ।
सङ्घका अध्यक्ष नारायणप्रसाद शर्माले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताभित्र कर्मचारीलाई तलब नदिए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन्।
जारी विज्ञप्तिमा आन्दोलनबाट सिर्जित परिणामको जिम्मेवार महानगर नै हुनुपर्ने उल्लेख छ।
‘सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासका लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छृङ्खल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरी थप समस्याको सिर्जना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ होइन, आआफ्नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्।
