समाचार

गणतन्त्रवादी-राजावादी प्रदर्शन : झन्डै चार हजार सुरक्षाकर्मी परिचालन

१५ चैत, काठमाडौँ । आज काठमाडौँमा हुने भनिएको  गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शनमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। गणतन्त्रवादीहरूले प्रदर्शनी मार्गमा र राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । 

दुवै प्रदर्शनको सुरक्षाका लागि २५ सय प्रहरी परिचालन हुने छन् भने सशस्त्र प्रहरी साढे १७ सय परिचालन हुने छन्। घुसपैठ हुन नदिन प्रहरीले सादा पोसाकमा पनि प्रहरी खटाउने भएको छ। 

प्रहरीको सहयोगीका रूपमा सशस्त्र प्रहरी खटिने भएकाले पहिलो भिड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने छ । यसका लागि सूचना सङ्कलनको रूपमा राष्ट्रिय अनुसन्धान विभागको टोली पनि खटिने छ । 

प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै थप फोर्स पनि तयारी अवस्थामा राख्ने जनाएको छ। 

गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चाले गरेको छ। उक्त मोर्चामा  (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) रहेका छन् । गणतन्त्रको रक्षा, भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न  समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेको जनाएको छ ।

राजावादीहरूको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर आजको प्रदर्शनको ‘कमाण्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तोकिएको छ । उनकै आयोजनामा आज तीनकुनेमा प्रदर्शन हुन लागेको हो।  राजावादीहरूले संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि प्रदर्शन गर्न लागिएको जनाएको छ।