समाचार

एकीकृत समाजवादीको कार्यालय तोडफोड, आगजनी गर्ने प्रयास

१५ चैत, काठमाडौँ । उग्र बनेका राजावादीका प्रदर्शनकारीले एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड गरेका छन् । काठमाडौँको तीनकुनेस्थित आलोकनगरमा रहेको उक्त पार्टीको केन्द्रीय कार्यालयमा राजावादी प्रदर्शनकारीले तोडफोड गरेका हुन्।

 उनीहरूले पार्टी कार्यालय अगाडि आगजनी  समेत गरेका छन्।  यस प्रदर्शनका कमान्डर दुर्गा प्रसाईँ छन्।

प्रदर्शनकारीले यतिबेला नेकपा एकीकृत समाजवादीको कार्यालयमा ढुङ्गा हानिरहेका छन्। त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजनी भएको थियो। 

तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीड अनियन्त्रित भएर व्यक्तिको घर, सरकारी गाडी, प्रहरीको भ्यान र पार्टीका कार्यालयहरूमा आक्रमण गर्दै हिँडेका छन्। 

राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए।  प्रहरी बिटलगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन्।