समाचार

राजावादी आन्दोलनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, त्रिवि शिक्षण अस्पतालबाट पुष्टि

१५ चैत, काठमाडौँ। राजावादी आन्दोलनमा घाइते भएका एक जनाको ज्यान गएको छ। घाइतेको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको अस्पताल निर्देशक प्रा.डा सुवास आचार्यले पुष्टि गरेका छन्। 

प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको बताइएको छ । प्रा.डा आचार्यका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाई फायर पनि गरेको थियो ।

प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेर पछि कर्फ्यु जारी भएको छ। आन्दोलनकारीले कर्फ्यु लागेकै अवस्थामा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेको थियो।

राजावादीका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट समेत गरेका थिए।