समाचार

समाजवादी मोर्चाको आकस्मिक बैठक आलोकनगरमा जारी

 १६ चैत, काठमाडौँ ।  समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसिरहेको छ। बैठक बिहान साढे ८ बजेपछि सुरु भएको हो।

राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट शनिवार बिहानै समाजवादी मोर्चाको बैठक बसेको हो। 

यसअघि आजै बिहान ११ बजेका लागि तय गरिएको समाजवादी मोर्चाको बैठक सारेर आकस्मिक रूपमा राखिएको बताइएको छ। शुक्रवार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो। 

बैठकमा समाजवादी मोर्चाका संयोजक तथा नेकपाका अध्यक्ष विप्लव, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, महासचिव देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, नेसपाबाट अध्यक्ष महीन्द्र राय यादवलगायत नेता सहभागी छन्। 

समाजवादी मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लवको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी आबद्ध छन्।