१७ चैत, काठमाडौँ । सरकारले फरार रहेका व्यवसायी दुर्गा प्रसाईँको राहदानी कालोसूचीमा राख्ने तयारी गरेको छ। उनलाई तीनकुने घटनाको मुख्य योजनाकार रहेको भन्दै सरकारले पक्राउ गर्न खोजे पनि उनी फरार रहेको बताइएको छ।
उनी विदेश भाग्न सक्ने भन्दै उनको राहदानी कालोसूचीमा राख्न लागिएको हो। प्रसाईँलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ। यस अघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमसेर जबरा र आन्दोलन परिचालन कमिटीका प्रवक्ता भनिने स्वागत नेपाल पक्राउ परिसकेका छन्। काठमाडौँ प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ गरेको हो ।
शुक्रवार भएको प्रदर्शनका मुख्य कमान्डर नै प्रसाईँ तोकिएका थिए। उनले आफैले गाडी चलाएर प्रहरीको घेरा तोड्दै बानेस्वरतर्फ हुइँकिएका थिए। उनको यही हर्कतका कारण तीनकुने क्षेत्रको वातावरण भड्किएको थियो।