२० चैत, काठमाडौँ। चैत १५ गते शुक्रवार तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा भिडलाई उक्साएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा प्रहरी हिरासतमा छन्। उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।
हिरासतमा रहेका दुबैजनाको बसाई सँगै रहेको छ। मिश्रले आफूलाई सामान्य थुनुवासँग राखिएको भनेर गुनासो गरेपछि जबरा सँगै राखिएको प्रहरी श्रोतले जनाएको हो। अन्य थुनुवा भन्दा अलग्गै बसेका उनीहरूको खाना खाने ठाउँ पनि अन्यको भन्दा फरक छ। दुवै जना प्रहरीकै मेसमा खाना खान्छन् दुवै जना मांसाहारी हुन् ।
प्रतिनिधि सभाका सांसद जबरा चाहिँ क्यान्सरमा बिरामी भनिएको छ। उनी आफूलाई मन लागेको बेला स्याउ र काजु मगाएर खाने गर्छन् । उनले भने अनुसार स्याउ र काजु पनि प्रहरीले उपलब्ध गराएको छ। उनीहरूले पानी नियमित ‘मिनिरल वाटर’ प्रयोग गर्ने गरेका छन् । बाहिरको सामान्य पानी दूषित हुनसक्ने भन्दै पानी पनि मगाएर खाने गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । उनीहरूसँगै ११ जनालाई राज्यविरुद्धको कसुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तीनकुने घटनामा मुख्य नाइके दुर्गा प्रसाईँ कार्यक्रम स्थल छोडेर भागेपछि जबरा र मिश्रले भिडलाई अघि बढ्न आदेश गरेको भिडियोमा देख्न सकिन्छ।





