समाचार

गृहमन्त्री लेखक भन्छन् : तीनकुने घटना संविधानलाई उल्ट्याउने उद्देश्यले भएकोमा कुनै शङ्का छैन

२२ चैत, काठमाडौँ। गृहमन्त्री रमेश लेखकले गत चैत १५गते भएको हिंसात्मक प्रदर्शन राज्यव्यवस्थालाई उल्ट्याउने मनसायले भएको बताएका छन्। 

आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा तीनकुने घटनाबारे जवाफ दिँदै गृहमन्त्री लेखकले संविधानलाई उल्ट्याउने उद्देश्यले भएकोमा कुनै शङ्का नरहेको बताएका हुन्। 

उनले यसमा कुनै भ्रम र द्विविधा नराख्न आग्रह समेत गरे । उक्त दिनको  प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित रहेको गृहमन्त्री लेखकको दाबी थियो। 

उनले राजावादीले आयोजना गरेको कार्यक्रम सरकारका काम कारबाहीको खबरदारी गर्नको लागी नभएर हिंसात्मक र अमानवीय ढङ्गले सञ्चालन गर्ने उद्देश्यले भएको दाबी गरे । 

राजावादीको हिंसात्मक प्रदर्शनका कारण एक जना पत्रकारसहित दुई जनाले ज्यान गुमाएका थिए भने कयौँ घाइते भएका थिए।