२२ चैत, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकबाट कुलमान घिसिङले आफू निर्देशकको भूमिकाबाट हटे पनि जिम्मेवार नागरिकको अभिभाराबाट नहटेको बताएका छन्। सर्वोच्च अदालतले आफ्नो पक्षमा अन्तरिम आदेश नदिएपछि आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू बिदा मात्रै भएको बताएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई हटाउँदा केही व्यक्तिहरूले ठुलै सफलता ठानेको टिप्पणी गरे। उनले कार्यकारी निर्देशकको रूपमा दोस्रोपटक नेपाल विद्युत् प्राधिकरणमा सेवा गर्ने अवसर पाएको आफूलाई गौरव महसुस भएको समेत बताए।
उनले भने चैत १४ गते आफूलाई निर्देशकको जिम्मेवारीबाट हटाइँदै गर्दा मकवानपुरको चेपाङ बस्तीमा काम गरिरहेको बताए। उनले भने,’कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान्। कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको जिम्मेवारी कहिल्यै कम हुनेछैन।’
देशमा लोडसेडिङ हट्नुमा कुनै चमत्कार नभएर इमानदार प्रयास मात्रै भएको कुलमानको भनाइ छ।





