१० साउन, चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।
गुरुङको शनिबार बिहान ८ बजे आफ्नै निवासमा निधन भएको कांग्रेसले जनाएको हो । कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ २०७८ साल साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताएका छन्। कांग्रेस विभाजन हुँदा गुरुङ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति समेत थिए ।
२००६ सालमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवनमा बसाइँसराइ गरी आएका हुन् । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । २०४६ सालको जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर गुरुङले काम गरिरहेका थिए । पूर्वप्रमुख गुरुङका छोरा देश बाहिर भएका कारण आइतबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
पूर्वप्रमुख गुरुङका २ जना छोरा मध्ये जेठो छोराको निधन भइसकेको छ । हाल कान्छो छोरो र श्रीमती मात्रै रहेको कांग्रेसले जनाएको हो ।





