प्रदेश 2

सिराहमा दाजुको हत्या गरी फरार भएका भाइ पक्राउ

१२ साउन, सिराहा। सिराहामा दाजुको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले पारिवारिक विवादका क्रममा आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए । मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्याम कुमारले छातीमा धारिलो हतियारले प्रहार गरेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएका मोतीरामलाई छिमेकीहरुले तत्काल लहानस्थित प्रादेशिक अस्पताल पु¥याएका भए पनि उपचारका क्रममा उहाँको मृत्यु भएको थियो । दाजुको हत्यापछि फरार रहेका श्यामकुमारलाई प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती क्षेत्र बाटो हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उक्त क्षेत्र भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र पर्छ ।

पक्राउ परेका श्यामकुमार सदालाई आइतबार जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घटनामा प्रयोग गरिएको धारिलो हतियार समेत प्रहरीले बरामद गरेको र प्रारम्भिक अनुसन्धानमा आरोपिले अपराध स्वीकार गरीसकेको प्रहरीले बताएको छ ।