१६ साउन, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।
यहि साउन १४ गते बुधबार मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री तामाङलाई हठ त्यागेरमार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। संसदीय दलको नेताबाट तामाङले विश्वास गुमाइसकेका कारण नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बानियाँको जोड छ । नेता बानियाँले आफू र मुख्यमन्त्री तामाङबीच मनमुटाव नरहेको समेत दावी गरेका हुन् ।
बुधबार सम्पन्न मतदानमा मुख्यमन्त्री तामाङलाई पराजित गर्दै बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका थिए। कुल ३७ जना सांसदमध्ये बानियाँले २२ र तामाङले १४ मत प्राप्त गर्दै पराजित भएका थिए । तामाङले आफू संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएको बताउँदै दलको नेता नभए पनि मुख्यमन्त्री पदमा रहन पाउने दावी गर्दै आएका छन् । साथै संविधानमा २ वर्षसम्म विश्वासको मतविरुद्ध प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको भन्दै पद नछोड्ने मुख्यमन्त्री तामाङले अडान लिएका हुन्।
नेता बानियाँले भने लोकतान्त्रिक अभ्यास अनुसार तामाङले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने धारणा राख्दै आएका छन्। उनले दलको निर्णय अनुसार आफू कांग्रेसको आधिकारिक नेता भइसकेको समेत बताएका हुन् । तामाङले मुख्यमन्त्री पद नछोडेको खण्डमा बिदाइ गर्ने चेतावनी समेत नेता बानियाँले दिएका छन् ।





