राजनीति

पार्टी सभापति देउवाको निर्देशनपछि बागमतीका मुख्यमन्त्री तामाङ राजीनामा दिन तयार

१६ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह तामाङले मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि तामाङले पदबाट राजीनामा दिने तयारी गरेका हुन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँसँग तामाङ पराजित भएपनि उनले मुख्यमन्त्री पदबाट भने राजीनामा नदिने अडान कायमै राख्दै आएका थिए ।

तर पार्टी सभापति देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने तामाङले आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् । दलको निर्वाचनमा मुख्यमन्त्री तामाङनिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले शनिबारसम्ममा राजीनामा दिने जानकारी गराएका छन् ।

मुख्यमन्त्री तामाङले राजीनामा दिएपछि बागमतीमा नेता बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने निश्चित भएको हो ।