१७ साउन, सुनसरी । सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको हो । शुक्रबार राति करिब सवाँ ९ बजे सुनसरीको दुहबीमा को ६ प ५२४१ नम्बरको मोटरसाइकल र को ३२ प १५०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंएर दुर्घटना भएको प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा शुक्रबार राति साढे १० बजे मृत्यु भएको प्रवक्ता खतिवडाले बताएका हुन् । उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङहोममै उपचार भइरहेको प्रहरीले जानकारी गराएको हो ।
त्यसैगरी, अर्को मोटरसाइकलको ६ प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।





