प्रदेश 2

सिरहामा १ सय किलो गाजासहित ९ जना पक्राउ

१७ साउन, सिरहा । सिरहामा ठूलो परिमाणमा लागूऔषध गाजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

औरही गाउँपालिका–४ कमलपुरबाट शनिबार विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ पर्नेमा ५ जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति र गाजा साहु तथा खरिद गर्न आएका २ जना भारतीय नागरिक रहेको जनाएको छ ।

प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेको बताएका हुन्। रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका–१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन् ।

त्यस्तै, खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत–१४का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेको प्रहरीले बताएको हो । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले बताएको छ । प्रहरी उपरीक्षक शर्माले गाजा ५ वटा बोरामा हालेर आँपको बगैचामा लुकाइ राखिएको बताएका थिए।

प्रारम्भमा गाजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाजासहित फेला परेको उनको भनाइ छ। पक्राउ परेकाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको हो।