प्रदेश 1

भोजपुरमा बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

१८ साउन, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ ।

बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो । बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज मांगपाहांगले जानकारी दिएका छन् । बजारमाथिको डाँडामा ढुंगा उत्खनन गरिंदा बस्तीमा असर परेको उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘पाँचधारे बजार पहिराको जोखिमा परेको छ । अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।’ बजार क्षेत्रका ८ वटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष मांगपाहांगले बताएका हुन्। यहाँको विपद तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष मांगपाहांगलेले जानकारी दिएका थिए । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनको भनाइ छ ।