१८ साउन, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नबनाउने बताएका छन्।
नेपाल महिला संघले आइतबार मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारेका छन् । यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उनको भनाइ थियो ।
मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पारेका छन् । उनले आफ्ना पनि घरमा छोरीहरू रहेको र महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ। गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि उनले स्पष्ट पारेका थिए।
कानूनको मस्यौदा मन्त्रिपरिषदको समितिमा छलफलका क्रममा रहेको समेत मन्त्री चौरसियाको भनाइ छ । पूरा तयार भइनसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न समेत उनले आग्रह गरेका थिए ।





