आर्थिक

नेप्से परिसूचकमा उच्च अंकको गिरावट, १३ अर्ब ७ करोड बढीको कारोबार

१८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आइतबार उच्च अंकले गिरावट आएको छ ।

नेप्से परिसूचक ६३ दशमलव ७३ अंकले घटेर २ हजार ८ सय ५८ दशमलव ९० बिन्दुमा कायम भएको हो । यो २ दशमलव १८ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको छ । ३ सय १९ कम्पनीको ३ करोड २२ लाख ६० हजार ३ सय ४१ कित्ता शेयर १ लाख ५२ हजार ५ सय १८ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७ करोड ५० लाख बराबरको कारोबार भएको हो ।

कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबै भन्दा बढी लघुवित्त समूह ३ दशमलव शून्य ५, बैंकिङ २ दशमलव २७, लगानी २ दशमलव १९, जीवन बिमा २ दशमलव १६ र उत्पादन तथा प्रशोधन समूह २ दशमलव ४३ प्रतिशतले घटेको नेप्सेले जनाएको हो।

विकास बैंक १ दशमलव ६६, वित्त  १ दशमलव ६६, होटल तथा पर्यटन १ दशमलव १७, जलविद्युत् १ दशमलव ३०, म्युचुअल फण्ड एक, निर्जीवन बिमा १ दशमलव ७३ र व्यापार १दशमलव ४३ प्रतिशतले घटेको छ । कारोबारमा ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आइतबार सबै भन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ करोड ३९ लाख ६४ हजार ८ सय ६५ बराबरको कारोबार भएको हो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सनराईज ब्लुचिप फण्डको सबै भन्दा बढी १२ लाख ४९ हजार ४ सय १६ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ।