२३ साउन, काठमाडौं । नेपाल टेलिकमले रसुवाको गोसाइँकुण्ड जाने पदमार्गमा 2G BTS सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै सोही स्थानमा 2G BTS सेवा सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् । देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवाको चन्दनबारीमा द्दन् द्यत्क् सञ्चालनमा ल्याएको समेत बताएका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको सोही स्थानमा सेवा सञ्चालन गरेको टेलिकमले जनाएको हो ।
टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS सेवा सञ्चालनमा ल्याएकोे हो । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २ सय मिटरमा अवस्थित गोसाइँकुण्डसम्म टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि 4G नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको जनाएको हो।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सोही क्षेत्रमा सेवा सञ्चालन आए पश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासीन्दाले समेत सेवाबाट लाभान्वित हुने भएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार कम्पनीले सोही क्षेत्रमा सेवा विस्तार गरेको हो ।
टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको जनाएको छ ।





