सूचना प्रविधि

एआईको प्रयोग गरेर अधिकतम लाभ लिन सक्नुपर्छः सञ्चारमन्त्री गुरूङ

२४ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता (एआई) को अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिएका छन् ।

३१औं विश्वआदिवासी दिवसका अवसरमा शनिबार आदिवासी जनजाति आयोगले आयोजना गरेको ‘आदिवासी जनजाति-कृत्रिम बौद्धिकताः अधिकारको रक्षा र भविष्यको निर्माण’ विषयमा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो जोड दिएका हुन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अहिले विकासको हरेक प्रक्रियामा एआईको प्रयोग हुने गरेको उल्लेख गर्दै कृषि, स्वास्थ्य, शिक्षा, सुशासन, पर्यटन, उद्योग र विपत्ति व्यवस्थापन लगायत क्षेत्रमा यसको प्रयोग बढाउने गरी काम भइरहेको पनि बताएका छन् ।

आदिवासी जनजातिका विषयमा संवैधानिक,कानूनी, नीतिगत अधिकारको खोजी गरी त्यसको कार्यान्वयन र थप अधिकारका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ। आज भन्दा ४३ वर्ष अगाडि संयुक्त राष्ट्रसंघ, आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको प्रथम बैठक सन् १९८२ को ९ अगष्टमा बसेको दिनको स्मरणमा संयुक्त राष्ट्रसंघले विश्व आदिवासी दिवस मनाउने घोषणा गरेपछि हरेक वर्षको ९ अगष्टलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने गरिएको छ । 

संयुक्त राष्ट्रसंघको एक अध्ययन अनुसार विश्वभरीका आदिवासी जनजातिको जनसंख्या ६० करोड भन्दा बढी छ । यो विश्व जनसंख्याको करिब ७५ प्रतिशत हो । उनीहरू विश्वका ९० भन्दा बढी देशमा बसोबास गर्दछन् । विश्वमा बोलिने ७ हजार भन्दा बढी भाषा मध्ये दुई तिहाइ अर्थात ५ हजार भन्दा बढी भाषा आदिवासी जनजातिले प्रयोगमा ल्याएका छन् ।

नेपालमा बोलिने १ सय २४ मध्ये ९३ भाषा आदिवासी जनजातिका भाषाहरू हुन् । विश्वमा प्रचलित ८० प्रतिशत खाद्य उत्पादन आदिवासी ज्ञानमा आधारित छ । भौगोलिक रूपमा पृथ्वीको २८ प्रतिशत भू-भागमा आदिवासी जनजातिको बसोबास छ । उनीहरू ८५ प्रतिशत जैविक विविधताका संरक्षक पनि हुन् । 

आयोगका अध्यक्ष रामबहादुर थापामगरले विशिष्ट ज्ञान, सीपका धनी आदिवासी जनजाति समुदायलाई संरक्षण,  सम्वद्र्धन गर्नु राज्यको कर्तव्य र दायित्व दुवै भएको उल्लेख गरेका छन् ।