२५ साउन, रौतहट । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ७४ लाख दुई हजार ६ सय ९९ मूल्य पर्ने सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले गत आवमा सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै भन्सार छलीका सामान बरामद हुनेक्रम उल्लेखनीय रुपमा वृद्धि भएको जानकारी दिनुभयो ।
“गत आवमा मात्रै रु दुई करोड ३१ लाख ४७ हजार मूल्य पर्ने स्कोरपियो गाडीदेखि साइकलसम्मका सवारीसाधन बरामद गरेका छौँ”, उनले भने, “सोही अवधिमा २ करोड ४८ लाख ४५ हजार ६ सय ५३ मूल्य पर्ने अवैध किराना, कस्मेटिक, लत्ताकपडा र मोटरपार्टस्का समान पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको छ ।” सशस्त्र प्रहरीका अनुसार गत आवमा एक/एक थान स्कोरपियो र सफारी गाडी बरामद गरिएको छ ।
त्यसैगरी, एक÷एक थान बोलेरो, म्याजिक र अटोरिक्सासहित १ सय ८० वटा मोटरसाइकल बरामद गरी गौर भन्सार कार्यालयलाई बुझाएको छ । सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले गत आवमा स्रोत नखुलेका ४८ लाख १७ हजार १ सय १० रकम बरामद गरेको पनि जानकारी दिएका हुन् ।
त्यस्तै, सोही अवधिमा स्रोत नखुलेका ९ लाख ४९ हजार ४ सय ४९ भारतीय रुपैयाँ पनि बरामद भएको छ । सशस्त्र प्रहरीले गत आवमा ६ सय ९३ क्युफिट काठ बरामद गरेर डिभिजन वन कार्यालय रौतहटलाई बुझाएको जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार गत आवमा ४ सय ६ कार्टुन अर्थात् ५ लाख ५१ हजार ८ सय २५ मूल्यको मदिरा बरामद गरिएको छ । सोही अवधिमा ८ सय ५० किलोग्राम माछा, एक हजार २ सय ४९ किलोग्राम बोइलर कुखुरा, १६ वटा गाईगोरु, भँैसी र पाडापाडी पनि बरामद गरिएको छ ।
त्यस्तै, रौतहट जिल्लास्थित सशस्त्र प्रहरीबलले ४ लाख ३ हजार ५६ मूल्यका पटकासमेत बरामद गरेको जनाएको छ । दक्षिणी सीमानाकामा ५ वटा ‘बोर्डर आउटपोष्ट’ रहेको रौतहटमा अरु आठ वटा सुरक्षाबेस क्याम्पमार्फत सशस्त्र प्रहरीले प्राप्त जिम्मेवारी पूरा गरिरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका हुन् ।





