समाचार

पर्वतको कोरूङ्गा गाउँ पहिरोको उच्च जोखिममा

२६ साउन, पर्वत । लगातारको वर्षाका कारण पर्वतको मोदी गाउँपालिका-२ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ ।

भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीबोट सडक निर्माणपछि करिब एक दशकदेखि शुरूवात भएको कोरुङ्गाको पहिरो बढ्दै गएर बस्ती तर्फ पुगेको हो । अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन् ।

पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ । कुमार केसीको घर भने उच्च जोखिममा परेको छ । पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासीन्दाको सहयोगमा सर सामान सुरक्षितस्थान तर्फ सारिएको छ । बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको हो । पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासीन्दा रातभरी जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिएका हु्न् ।

केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन् । पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै समयमा पनि बस्तीनै दुर्घटनामा पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।

 गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो । पातीचौर देउपुर लप्सीबोट सडकको कोरुङ्गा खण्डको करिब २ किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ । यसवर्ष पनि सोही सडक पूर्णरूपले अवरुद्ध बनेको छ । 

गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडकनै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ । अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिएका थिए । विकल्पको रूपमा रहेको बेतेनी गौंडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताएका छन् । नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ ।

वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको प्रहरीले बताएको हो । ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन् । वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीयबासीले बताएका हुन् ।