आर्थिक

खुद नाफा ४ अर्ब ९१ करोड बढी कमाउन एभरेष्ट बैंक सफल

२६ साउन, काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्ममा ४ अर्ब ९१ करोड भन्दा बढी खुद नाफा कमाउन सफल भएको छ ।

सोही नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ दशमलव ८१ प्रतिशत बढी रहेको बैंकले जनाएको हो । गत आवको असार मसान्तसम्म ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, अघिल्लो वर्ष बैंकले ७ अर्ब ६४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १९ दशमलव ३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि साढे ९ अर्ब रुपैयाँबाट बढेर ११ अर्ब १६ करोड रुपैयाँ नाघेको हो।

बैंकले अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ३१ दशमलव ६३ प्रतिशतले वृद्धि भएर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। आम्दानी र नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ३१ दशमलव ४७ रुपैयाँबाट बढेर ३७ दशमलव ९९ रुपैयाँ पुगेको हो। प्रतिशेयर नेटवर्थ २ सय ४७ दशमलव ३९ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ० दशमलव ७१ प्रतिशतबाट घटेर ० दशमलव ३८ प्रतिशतमा झरेको हो।

त्यस्तै, चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ९५ करोड रुपैयाँ र रिजर्भमा १३ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति रहेको बैंकले जनाएको हो । बैंकले १ अर्ब १० करोड रुपैयाँ सापटी लिएर २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरेर २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले दावी गरेको छ ।