कविता प्रकाशचन्द्र खतिवडा (सुन्दरहरैँचा—६, दुलारी मोरङ्ग)
मेरो कविता निषेध गरेर
आफूलाई अब्बल प्रेस सेनानी बताउने
केही सम्पादक र प्रकाशकहरु
प्रेस स्वतन्त्रताको कथित कथा हाल्छन
कुनै रङ्गमञ्चित पर्दामा जस्तो
नायक खलनायक झै
नक्कली अभिनय गर्दै
रोए जस्तो गर्छन
हासे जस्तो गर्छन
र भजन गाउँछन ।
म कविता लेख्छु
भोकको
रोगको
शोकको
म विद्रोह पनि त लेख्छु
निरङ्कुश सत्ता विरुद्धको
मलाई स्वतन्त्रता प्यारो छ
म क्रान्तिको कविता लेख्छु ।
गरिबीले थलिएका छन मान्छेहरु
भोको पेटले सारङ्गी बजाए पछि
धनबहादुरको धन्सार नलुटेर
रमिता मात्रै हेरी बस्दैन मान्छे
सुनौलो सपना देख्न नपाई
विपनाको विस्कुन खोसिए पछि
स्वभावतः
मान्छे विद्रोही बन्छ
मर्न मार्न तयार भै
सामन्तहरुको कठालो तानी
सडकमा घसार्छ
म सामन्तको विरोधमा बोल्छु
मलाई देशद्रोही भनिन्छ ।
मान्छेहरु न्याय र समानताको बत्ति बालेर
अध्यारो फाल्ने भनि
मोर्चाबन्दी गर्दै
जुलुसमा सामेल छन
जुलुसले सत्ता कब्जा गर्न सक्छ
इन्क्लावको नारा लगाउ
विजयका झण्डा फहराउनु पर्छ ।
बैभवी सपना खोसेर
सत्ताच्यूत गर्छाै जब
दीनदुःखीहरुको सत्ता स्थापित हुन्छ
सत्तामा बसे पछि
भुइँमान्छेको कथा विर्सियौ भने
इतिहास क्षम्य नहुन सक्छ
इतिहास रगतले लेखिएको छ
इतिहासको सम्मान गर्दै
भुइँमान्छेकै कथा लेख ।
म लेख्ने छु
तिम्रो विजयको कथा
तिम्रो बलिदानको कथा
मलाई प्रगतिशीलको आरोपि बनाएर
हण्डी पचाउँदै
तिनीहरु भयले चिच्च्याइ रहेछन
मेरो कवितालाई अकविता भन्दै
मलाई अकवि बनाएर ।





