–गुरुराज घिमिरे -कविता
माफ पाउँ,
यसपालिको बडा दशैंमा मैंले
कसैलाई शुभकामना दिन सकिन
आसुरी शक्तिले मेरा प्रिय भाइ बहिनीलाई
सर्लक्कै निलेर यमलोक पुर्याएको बेला
क्षमा पाउँ,
मैंले हर्षोल्लास मनाउन सकिन
थाहा छ मलाई मेरो अनुहारमा
रगतको टाटै टाटा छ
मैंले पहिरेको बस्त्रमा
खुनको छिटैछिटा छ
पल्ला घर तेह्रौंको काम छ
यता अर्को भाईको मलाम छ
सहिद हुनेहरुको लामो सुचि छ
बा आमा र परिवारको चित्कार छ
अस्पतालका शैय्यामा घाइतेहरुको
दारुण र बिभत्स चित्र छ
हाम्रो गाउँ र बस्ती शोक सन्तप्त छ
कतै काख र कतै घरको फूलबारी उजाड छ
न बसन्त छ, न शरद छ
आकाशमा बादल छ
क्षितिजमा तुवाँलो छ
हिक्क हिक्क थामिएको छैन
आँखामा बर्षात छ
अनि मैंले कसरी दिनु शुभकामना
कसरी दिनु द्रोणपुत्रको चिरञ्जीवी आशिर्वाद
यसपालि यस्तै भयो
राक्षसहरुले देखि सहेनन् हाम्रो खुशी
अर्कोपालि सम्हालेर आफैंलाई
साटौंला शुभकामना
बाटौंला आशिष
हुन त के बस्लान र घाउका खाटा !
जेसुकै होस ०८२ को बज्रपातलाई
बिस्मृतिमा धकेलेर
असुरहरुलाई सेलाएर
चाडवाड मनाउँला
शुभकामना बाडौंला !





