समाचार

प्रधानमन्त्री कार्कीको प्रतिबद्धता : नेपाल संवत् अब नोटमा देखिनेछ

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्लाई राष्ट्रिय पहिचानको महत्वपूर्ण अंशका रूपमा स्वीकार गर्दै, अबदेखि नेपाली नोटहरूमा नेपाल संवत् समावेश गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

नेपाल संवत् ११४६ को प्रारम्भको अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उक्त घोषणा गरेकी हुन्। उनले नेपाल राष्ट्र बैंकसँग समन्वय गरी, आवश्यक परामर्शपछि कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले ११ शताब्दीअघि राजा राघवदेवको पालामा शंखधर साःख्वाले गरिब र ऋणग्रस्त नागरिकलाई मुक्त गराएको ऐतिहासिक घटनालाई स्मरण गर्दै भनिन्, “उनको त्याग र मानव सेवाको भावनाले आज पनि हामीलाई सामाजिक एकता र दायित्वबोधतर्फ प्रेरित गर्छ ।”

वि.सं. २०५६ मा शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ सालदेखि नेपाल संवत्लाई राष्ट्रिय संवतको मान्यता दिइएको हो। तर, अझैसम्म औपचारिक निकायहरूमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

यस सन्दर्भमा प्रधानमन्त्रीले सरकारी कार्यालयहरूमा नेपाल संवत्को उपयोग सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने बताइन् । साथै, नीति कार्यान्वयन र प्रगति अनुगमनका लागि नेपाल संवत् प्रतिष्ठानसँग सहकार्य गर्ने सरकारको इच्छा पनि उनले व्यक्त गरिन्।

कार्यक्रममा उनले नेपाल संवत्लाई राष्ट्रिय जीवनशैली र संस्कृतिमा गहिरो रूपमा स्थापित गराउँदै, भावी पुस्तालाई यसको ऐतिहासिकता र मूल्यबोधबारे जानकारी गराउनु आवश्यक रहेको पनि बताइन्।