१५ कात्तिक, काभ्रेपलाञ्चोक । लगातारको वर्षाले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा ठूला–ठूला पहिरो र लेदो बग्दा सडक आवागमन ठप्प भएको छ। शुक्रबार बिहानदेखि अवरुद्ध भएको राजमार्ग अझैसम्म खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीका अनुसार वर्षासँगै पहिरो र लेदोका कारण चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना, माम्ती, नार्के, पिन्थलीबेशी, विरुवाडाँडा र डालाबेशी लगायतका ठाउँमा सडक पूर्णरूपमा बन्द भएको हो।
गत असोजमा बगेको सडकको ठाउँमा बनाइएको माम्तीको डाइभर्सनमा पनि लेदो मिसिएको बाढी पस्दा स्थिति झन् जटिल बनेको छ। प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्ने भएकाले यात्रुहरूलाई अनावश्यक जोखिम नलिन र यात्रा अघि सडकको अवस्था बुझ्न अनुरोध गरिएको छ।
पूर्व जाने गाडीहरू काभ्रेको भकुन्डेमा रोकिएका छन् भने पूर्वबाट काठमाडौं आउने सवारी पनि बीचमै अड्किएका छन्। सडक बन्द हुँदा यात्रुहरू घण्टौंदेखि बाटोमै अलपत्र परेका छ।





