समाचार

मौसमको असर : विभिन्न विमानस्थलमा उडान रद्द, देशभरि बदली र वर्षा

१५ कात्तिक, काठमाडौं । मौसमको खराबीका कारण देशका विभिन्न विमानस्थलमा उडान प्रभावित भएका छन्। शनिबार भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा सबै उडान स्थगित भएका छन्। बाक्लो बादलले हिमाल ढाकिँदा माउन्टेन फ्लाइटहरू पनि रद्द भएको छ।

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव जारी छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि अधिकांश बदली छ भने बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

यसैबीच, बागमती प्रदेशका केही स्थानमा र कोशी, मधेश तथा गण्डकी प्रदेशका थोरै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम विभागले यात्रा गर्दा सावधानी अपनाउन र मौसम अपडेट हेर्न अनुरोध गरेको छ।