१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अब आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रिय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुन: बस्ने निश्चित भएको छ।
महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका प्रस्तुत नभएसम्म बैठकमा सहभागी नहुने अडान लिएका कारण बैठक स्थगित गरिएको थियो। पार्टीभित्र विशेष वा नियमित महाधिवेशनको विषयमा गम्भीर मतभेद देखिन थालेको पृष्ठभूमिमा छलफल निष्कर्षमा नपुगेको भन्दै बैठक स्थगित गर्नु परेको थियो।
थापाले तत्काल महाधिवेशन आयोजना गर्नुपर्ने अडानमा रहेका छन् र महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर संयुक्त अभियान अघि बढाइरहेका छन्।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा केन्द्रिय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरुको उपस्थितिको लागि विशेष आग्रह गरेका छन् ।
कांग्रेसको आगामी राजनीतिक दिशा तय गर्ने यस महत्वपूर्ण बैठक आइतबार बस्ने भएपछि पार्टीभित्र र बाहिर दुवैतर्फ ठूलो ध्यानाकर्षण बढेको छ।






