समाचार

‘मोन्था’ चक्रवात कमजोर, नेपालमा अझै वर्षा र हिमपातको सम्भावना

१६ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ क्रमशः कमजोर बन्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि यसको प्रभाव घट्दै गएको हो।

मोन्थाको असरसँगै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ भने काठमाडौंमा पनि बिहानैदेखि वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा, मधेश र बागमती प्रदेशका साथै गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ। त्यस्तै, कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र बागमती–गण्डकीका उच्च भागमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

राति कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत मौसमविद्हरूले बताएका छन्।